राष्ट्रियसभा सदस्य निर्वाचन : आज देशभर मनोनयन दर्ता

170 Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ।

निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ। राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो।

आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ। यसअघि आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो भने मंगलबार दावी–विरोध यकिन गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ।

निर्वाचन कार्यतालिका अनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ।

राष्ट्रिय जनगणना २०७८ अनुसार मतदाता संख्या र मतभारसमेत आयोगले सार्वजनिक गरिसकेको छ। निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहनेछन्।