काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि मंगलबार भएको दुर्व्यवहारप्रति निन्दा व्यक्त गर्नुभएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधर नेता–कार्यकर्ताको प्रदर्शनका क्रममा उपसभापति निधिसँग नोकझोक भएपछि उक्त घटनाप्रति प्रतिक्रिया जनाउँदै प्रवक्ता झाले सामाजिक सञ्जालमार्फत असन्तोष प्रकट गर्नुभएको हो।
सामाजिक सञ्जालमा लेख्दै झाले नेतृत्वमा नयाँ पुस्ताको दाबी स्वाभाविक भए पनि पुराना पुस्ताका नेताप्रति सम्मान कायम रहनुपर्ने उल्लेख गर्नुभयो।
उहाँले लेख्नुभएको छ,
“नेतृत्व प्रतिको नयाँ पुस्ताको दाबी स्वाभाविक हो, तर पुरानो पुस्ताप्रति सम्मान यथावत् रहनुपर्छ। तसर्थ आज ललितपुर सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा कांग्रेस नेता विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार निन्दनीय छ। म खेद व्यक्त गर्दछु।”
निधि र झा दुवै धनुषाका स्थायी बासिन्दा हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता निधिले लड्दै आएको धनुषा क्षेत्र नम्बर ३ मा झा पनि आकांक्षी थिए। तर टिकट वितरणमा आर्थिक चलखेल भएको आरोप लगाउँदै झा कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए। रास्वपामा प्रवेश गरेपछि झा समानुपातिकतर्फबाट सांसद बनेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया