काठमाडाैं । सरकारले पुस ११ गते बसेको मन्त्रीपरिषद् बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ।
त्यस्तै, सरकारले प्रत्येक वर्ष पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ।
साथै, नेपालमा भिसा नियमित नगरी बसोवास गर्दै आएका १५ जना विदेशी नागरिकलाई प्रचलित कानूनअनुसार विलम्ब शुल्क र जरिवाना मिनाहा गरी प्रस्थान गराउने निर्णय पनि भएको छ।
मन्त्रीपरिषद्को बैठकले लिएका अन्य निर्णयहरू यस प्रकार छन्ः
डिजिटल नेपाल ट्रान्सफरमेशन प्रोजेक्टको लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिन सैद्धान्तिक सहमति दिने र वित्तीय सम्झौता अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने।
मिति २०८२ पुस २२ मा थाइल्याण्डको बैंककमा हुने FATF/इंटरनेशनल कोअपरेसन रिभ्यु ग्रुप-एशिया पासिफिक ज्वाइन्ट ग्रुपसँगको फेस–टु–फेस मिटिङमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन।
गृह मन्त्रालय अन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी स्वीकृत।
नेपाली सेनाका तीन सहायक रथीलाई उपरथी दर्जा र चार प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा। चार सहायक रथीको सरुवा र एक उपरथीको भारत भ्रमण स्वीकृत।
वैदेशिक रोजगारमा इराक जाने नेपाली नागरिकलाई तोकिएबमोजिम श्रम स्वीकृति दिन स्वीकृति प्रदान।
शहरी विकास मन्त्रालय अन्तर्गत बबरमहलमा कार्यरत लेखापाललाई कडा रोग लागेकाले थप आर्थिक सहायता उपलब्ध गराउने।
नेपाल–भारतबीच स्वास्थ्य र औषधि क्षेत्रमा सहकार्य गर्ने परिमार्जित समझदारी पत्र स्वीकृत।
२०८२ भदौ २३–२४ को आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनःनिर्माण योजना कार्यान्वयन।
मधेस प्रदेश मुख्य सचिव पदमा सहसचिव कमलप्रसाद भट्टराईलाई कायम नियुक्त।
उपमहालेखापरीक्षक इन्द्रप्रसाद आचार्य उमेरहदका कारण २०८२ पुस ९ गतेदेखि अवकाश।
फेसबुकबाट तपाईको प्रतिक्रिया