कोइरालाः प्रतिनिधिसभा मनोनयनपछि विशेष महाधिवेशन बोलाउनु उचित

139 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भएपछिका बेला विशेष महाधिवेशन बोलाउनु उचित हुने बताएका छन्।

निर्वाचनअघि महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यको समूहसँग मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा भएको छलफलका क्रममा नेता कोइरालाले यस्तो धारणा राखेका हुन्।

उनका अनुसार, “अहिले राष्ट्रिय सभा र प्रतिनिधिसभाका उम्मेदवार टुंग्याउनु पर्नेछ। त्यसैले विशेष महाधिवेशन माघ ६ गतेपछि बोलाउनु उचित हुन्छ। त्यतिबेला सबै मनोनयन प्रक्रिया सकिन्छ र यसरी बोलाउँदा पार्टी एकताको सन्देश पनि जान्छ।”

कोइरालाले पार्टीभित्र चुलिएको महाधिवेशन विवाद व्यवस्थापनका लागि मध्यमार्गी निकास खोज्ने पक्षधर समूहसँग छलफलमा केन्द्रीय कार्यसमितिले सहमतिको आधारमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याए। उनले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय कार्यसमितिले डाकेको महाधिवेशन सबैलाई मान्य हुने र आफू त्यसका लागि प्रयासरत रहेको पनि जानकारी दिएका छन्।

फरक प्रसंगमा नेता कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने स्पष्ट गरेको छ। उनका अनुसार, “गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई–चार सिट बढी ल्याउला, तर समानुपातिक मत घट्छ र कांग्रेसलाई दीर्घकालीन हानी हुन्छ।”

छलफलमा सहभागी केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टीभित्र देखिएको विवाद समाधान गर्न शीर्ष नेतासँग पहल गरिरहेको बताइन्। उनीहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाको रूपमा रुपान्तरण गरेर निर्वाचनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएको कोइरालाको सचिवालयले जनाएको छ।