काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको बताउनुभएको छ।
सोमबार शीतल निवासमा टी–२० विश्व कपको ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले टी–२० विश्व कपको ट्रफी नेपाल आइपुग्नु देशका लागि गौरवको क्षण भएको उल्लेख गर्नुभयो। उहाँले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। नेपालमा विश्व कप ट्रफी ल्याएर नेपाली क्रिकेट तथा जनताको उत्साह र आत्मविश्वास अभिवृद्धि गरिदिएकोमा उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति धन्यवाद व्यक्त गर्नुभयो।
“नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त रूपमा स्थापित हुँदै गएको छ। क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधार सुदृढ बन्दै गएको छ,” राष्ट्रपति पौडेलले भन्नुभयो।
उहाँले नेपाली क्रिकेटले अझ उचाइ हासिल गरोस् र खेलाडीहरूले विश्वमञ्चमा देशको गौरव उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्व कपमा सहभागी महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया