नालन्दामा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

201 Shares

काठमाडौं । दक्षिण एसियाका बहुभाषिक समाजमा लोपोन्मुख भाषा तथा संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे छलफल गर्दै भारतको नालन्दा खुला विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबार सम्पन्न भएको छ।

सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलको भारतस्थित बिहार च्याप्टरले अमरपाली कला–साहित्य सम्मेलन तथा मानवअधिकार टुडेसँगको सहकार्यमा आयोजना गरेको सम्मेलन दुई दिनसम्म चलेको थियो।

सम्मेलनले पत्रकारिता केवल सूचना प्रवाहको माध्यम मात्र नभई मातृभाषा संरक्षणको सशक्त औजार बन्न सक्ने निष्कर्ष निकालेको छ। सम्मेलनमा नेपालका तर्फबाट सहभागी नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दक्षिण एसियाका पत्रकारहरूबीच मातृभाषा संरक्षणका विषयमा ज्ञान, सीप र अनुभव आदानप्रदानमा सम्मेलन केन्द्रित रहेको जानकारी दिनुभयो।

सम्मेलनमा सहभागी पत्रकार राजु नापितले बहुभाषा र बहुसंस्कृतियुक्त दक्षिण एसियामा पत्रकारितामार्फत लोप हुँदै गएका तथा लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको बताउनुभयो। नापित नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय सचिवसमेत हुनुहुन्छ।

नेपाली पत्रकारहरूको टोलीसहित नेवाः पत्रकार राष्ट्रिय दबू मातृभाषा पत्रकारिता सम्मेलनमा सहभागी भएको यो दोस्रो पटक हो। सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशिभूषण कुमारको अध्यक्षतामा सम्पन्न सम्मेलनका प्रमुख अतिथि पूर्व सिक्किम राज्यपाल गंगाप्रसाद रहनुभएको थियो।

सम्मेलनमा मौरिससका पूर्व उपप्रधानमन्त्री हरिश बुद्धुकी धर्मपत्नी तथा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धु, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, थाइल्याण्डका प्रतिनिधि डा. पी. सी. चन्द्रासहित विभिन्न देशबाट करिब तीन दर्जन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष शशिभूषण कुमारका अनुसार यो बिहारमा आयोजना भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन हो। सम्मेलनका अवसरमा नेपालका तर्फबाट सहभागी पत्रकारहरूलाई अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता अवार्ड प्रदान गरिएको थियो।

अवार्ड प्राप्त गर्ने पत्रकारहरूमा नृपेन्द्रलाल श्रेष्ठ, राजु नापित, सदाब मलिक, दिपेन्द्र प्रजापति, अभिलाष गुप्ता, शैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम रहेका छन्।

सम्मेलनपछि सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो। यस क्रममा नालन्दाको ऐतिहासिक महत्व, शैक्षिक परम्परा र प्राचीन वैभवबारे जानकारी गराइएको आयोजकले जनाएको छ।