अन्तरिम सरकारले पुरानै गलत राजनीतिक संस्कार दोहोर्‍यायो : सर्वेन्द्र खनाल

181 Shares

काठमाडौं । समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक दलहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास गरेको आरोप लगाउनुभएको छ।

सोमबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष खनालले सरकार तथा राजनीतिक दलहरूले जेन–जी युवा पुस्तालाई विभाजित गर्ने काम गरिरहेको बताउनुभयो। उहाँले जेन–जी आन्दोलनले उठाएका मागहरूलाई संस्थागत गर्ने विषयमा सरकार र राजनीतिक शक्तिहरूले कुनै चासो नदेखाएको आरोपसमेत लगाउनुभयो।

अध्यक्ष खनालले आगामी निर्वाचनमार्फत नयाँ भनिएका राजनीतिक समूहहरूलाई समेत समेटेर समुन्नत नेपालको यात्रा तय गर्ने आफ्नो प्रयास रहेको बताउनुभयो। उहाँले मुलुकमा बाहिरबाट आयात गरिएका राजनीतिक वादहरूको आवश्यकता नरहेको स्पष्ट पार्दै पुँजीवाद, साम्यवाद वा संविधानमा उल्लेखित समाजवादउन्मुख अवधारणाको व्यवहारिक कार्यान्वयन नदेखिएको टिप्पणी गर्नुभयो।

“अन्तरिम सरकारले पनि पुरानै राजनीतिक दलहरूको गलत संस्कार दोहोर्‍याएको छ। जेन–जी युवा पुस्तालाई कोही तेरो, कोही मेरो भन्ने गरी विभाजन गरिएको छ, तर उनीहरूले उठाएका मागलाई संस्थागत गर्ने विषयमा कुनै चासो देखिँदैन,” अध्यक्ष खनालले भन्नुभयो।

उहाँले कुनै पनि राजनीतिक वादभन्दा नागरिकको जीवनस्तर (क्वालिटी अफ लाइफ) सुधार मुख्य लक्ष्य हुनुपर्ने उल्लेख गर्दै ती सिद्धान्तहरू व्यवहारमा लागू नभएको जिकिर गर्नुभयो।

अध्यक्ष खनालले विकासका कामहरू तीव्र गतिमा अघि बढाएर समुन्नत राष्ट्र निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता रहेको पनि जोड दिनुभयो।