काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि आजै भारत लगिने तयारी गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत सुवेदीलाई स्रोतका अनुसार भारतको दिल्ली लैजाने तयारी भइरहेको छ। यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराइने भन्नेबारे विवरण खुलाइएको छैन।
स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि सुवेदीलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो। आज केहीबेरअघि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। प्रधानमन्त्री कार्कीका निजी चिकित्सक मनबहादुर केसीले ‘सेकेन्ड ओपिनियन’ लिनुपर्ने सुझाव दिएपछि डिस्चार्ज गरिएको चिकित्सकले जानकारी दिनुभयो।
चिकित्सकका अनुसार सुवेदीमा पिसाबको संक्रमण, शरीरमा नुनको मात्रा कम हुनु र रिंगटा लाग्ने समस्या देखिएको थियो। यसअघि उनले प्रोस्टेटको शल्यक्रिया गराइसकेका थिए। हाल संक्रमणका कारण देखिएका जटिलता र उपचारको आवश्यकता अनुसार भारतमा थप उपचार गराउने निर्णय भएको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया