ओली–दाहालबीच जेनजी आन्दोलनपछि पहिलो भेटवार्ता

138 Shares

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालबीच आइतबार भेटवार्ता भएको छ। जेनजी आन्दोलनपछि दुई शीर्ष नेताबीच भएको यो सम्भवतः पहिलो भेटवार्ता हो।

ललितपुरस्थित एमाले कार्यालय च्यासल नजिकैको एक निजी घरमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। छलफलका क्रममा सरकारले निर्वाचनको वातावरण बनाउनुको साटो राजनीतिक दल र शीर्ष नेताहरूको मानमर्दन गरिरहेको भन्दै दुवै नेताले वर्तमान अवस्थाको समीक्षा गरेका छन्।

नेकपा संयोजक दाहालको सचिवालय प्रमुख गोविन्द आचार्यका अनुसार भेटवार्तामा समसामयिक विषयहरूमा गहन छलफल भएको थियो। उहाँका अनुसार आगामी निर्वाचनको वातावरण निर्माण, राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावना तथा सरकारले चुनावी वातावरण तयार गर्न नसकेको विषय मुख्य छलफलका एजेन्डा थिए। यद्यपि, ती विषयमा कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको जनाइएको छ।

यसअघि दुई नेताबीच शनिबार भेटवार्ता गर्ने तय भए पनि संयोजक दाहाल संखुवासभाबाट काठमाडौं फर्किन ढिला भएपछि उक्त भेट स्थगित गरिएको थियो।