एजेन्सी। इजिप्टले सन् २०२५ मा करिब १ करोड ९० लाख विदेशी पर्यटक भित्र्याउँदै नयाँ कीर्तिमान कायम गरेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो।
पर्यटन तथा पुरातत्व मन्त्री सरिफ फाथीका अनुसार सुरक्षा र स्थिरता कायम रहनु, स्पष्ट विकास रणनीति अवलम्बन गर्नु, पर्यटन उत्पादनहरू विविधीकरण गर्नु तथा सेवाको गुणस्तर सुधार गर्नु पर्यटक आगमन बढ्नुका प्रमुख कारण हुन्।
सन् २०२५ मा कायरो, हुरघाडा, शर्म अल–शेख र मार्स आलम इजिप्टका सबैभन्दा व्यस्त विमानस्थलहरू बनेका छन्। यी विमानस्थलहरूको व्यस्तताले देशभर पर्यटकीय आकर्षणहरू भौगोलिक रूपमा विस्तार हुँदै गएको संकेत गर्छ। मन्त्री फाथीले विश्वका १ सय ९३ सहरहरूबाट इजिप्टमा प्रत्यक्ष पर्यटक उडानहरू आएको जानकारी पनि दिनुभयो।
यस अवधिमा चार्टर उडान ट्राफिक ३२ प्रतिशतले वृद्धि भएको छ। विशेषगरी न्यू अलामेन सिटी चार्टर उडानहरूमा ४५० प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ, जसले उक्त सहरलाई तीव्र गतिमा उदीयमान पर्यटकीय गन्तव्यको रूपमा स्थापित गरेको छ।
रेमिट्यान्स, सुएज नहरको आम्दानी र निर्यातसँगै पर्यटन इजिप्टको वैदेशिक मुद्राको प्रमुख स्रोतको रूपमा रहेको छ। सन् २०२४ मा इजिप्टले १ करोड ५७ लाख पर्यटकबाट १५ दशमलव ३ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। त्यसयता पर्यटन क्षेत्रले निरन्तर सुधारको बाटो समातेको देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया