काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले तोकिएकै मितिमा निष्पक्ष, धाँधलीरहित र समयमै निर्वाचन गराउन पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ।
शनिबार ललितपुरको पाटनमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकारले निर्वाचनको वातावरण सहज र विश्वसनीय बनाउन आवश्यक सबै तयारी अघि बढाइरहेको जानकारी दिनुभयो। उहाँले निर्वाचनमार्फत सक्षम र जिम्मेवार नेतृत्व चयन गर्न युवाहरूलाई विशेष भूमिका खेल्न आग्रह गर्नुभयो।
मुलुक परिवर्तनको बाटोमा अघि बढिसकेको उल्लेख गर्दै मन्त्री खरेलले त्यो परिवर्तनलाई संस्थागत गर्न युवाहरू निर्वाचनमार्फत नेतृत्वमा आउन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो,
“फागुन २१ गते चुनाव हुँदैछ। यो निर्वाचनमा हामी सबैले गल्ती नगरी राम्रो नेता र सक्षम नेतृत्व चयन गर्न जरुरी छ।”
उहाँले युवा पुस्ता राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्नुपर्नेमा जोड दिँदै देशको अनुहार परिवर्तन हुँदै गएको र त्यस परिवर्तनमा युवाहरूको भूमिका निर्णायक हुने धारणा व्यक्त गर्नुभयो।
सरकार निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गराउन पूर्ण प्रतिवद्ध रहेको दोहोर्याउँदै मन्त्री खरेलले जेन–जी आन्दोलनको मर्मअनुसार भ्रष्टाचारमुक्त मुलुक निर्माणका लागि सरकार दृढताका साथ अघि बढिरहेको दाबी गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया