नवौं एनभीए भलिबल च्याम्पियनसिपको फाइनल आज

193 Shares

काठमाडौं । काठमाडौंमा जारी नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका फाइनल खेल आज हुँदैछन्।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताअन्तर्गत हिजो सम्पन्न पुरुषतर्फको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। यस्तै हेल्प नेपाल स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो।

महिलातर्फको उपाधिका लागि न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। हिजो भएको सेमिफाइनल खेलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो।

महिलातर्फको फाइनल खेल दिउँसो १ बजे र पुरुषतर्फको फाइनल खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।