काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले बल प्रयोग गर्न कुनै लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट गर्नुभएको छ।
जाँचबुझ आयोगमा बयान दिएपछि सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता लेखकले प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने भन्ने आदेश दिन मिल्ने कुनै संवैधानिक वा कानुनी व्यवस्था नै नरहेको बताउनुभयो।
उहाँले आन्दोलनका क्रममा हाताहाती भएपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य ठानी गृहमन्त्री पदबाट राजीनामा दिएको दाबी गर्नुभयो। साथै २२ भदौमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूलाई दिशानिर्देश मात्र दिएको उल्लेख गर्दै त्यसलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत भएको बताउनुभयो।
पूर्वगृहमन्त्री लेखकका अनुसार आन्दोलनको क्रममा कति र कसरी बल प्रयोग गर्ने भन्ने निर्णय स्थानीय प्रशासन र फिल्डमा खटिएका सुरक्षाकर्मीले तत्कालीन अवस्था र वस्तुगत परिस्थितिको आधारमा गर्ने हो।
पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,
“राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान विषय हो भन्ने मेरो विश्वास छ। त्यसैले नैतिकताका आधारमा मैले राजीनामा दिएको हुँ। गृहमन्त्रीले बल प्रयोग गर्न आदेश दिने न त कानुनी अधिकार हुन्छ, न त्यस्तो अभ्यास नै छ। प्रधानमन्त्री वा मन्त्रीले ‘यति बल प्रयोग गर, यसरी गर’ भन्नु कानुनसम्मत कुरा होइन।”
नेता लेखकले जेनजी आन्दोलनका मागहरू जायज भए पनि आन्दोलनमा घुसपैठ हुँदा मुलुकले ठूलो धनजनको क्षति व्यहोर्नुपरेकोप्रति दुःख व्यक्त गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया