काठमाडाैं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी आफूमा सुधार गर्न सके कसैको सहारामा निर्भर हुन आवश्यक नरहेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले कांग्रेस सुध्रिन नसके चारैतिरबाट चुनौतीको सामना गर्नुपर्ने अवस्था आउने टिप्पणी गरे। तर, पार्टीले आफूलाई सुधार गरेर जनतामाझ जान सके तल्लो तहसम्म मजबुत संगठन भएको कांग्रेसलाई कसैको वैशाखी टेक्न नपर्ने उनको भनाइ छ।
उनले नेपाली कांग्रेस आफैं लोकतन्त्रको संरक्षक र संवाहक भएको दाबी गर्दै पार्टीभित्र आत्मसुधार अपरिहार्य रहेको उल्लेख गरे।
यस्तै, कांग्रेस नेता रामनाथ अधिकारीले पार्टीको केन्द्रीय महाधिवेशन यही पुस महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि केही समय सर्न सक्ने अवस्था रहेको बताए। उनले क्रियाशील सदस्यता टुंग्याएर सकेसम्म छिटो महाधिवेशन गर्नुपर्नेमा जोड दिए।
आफू आगामी निर्वाचन नलड्ने घोषणा गरिसकेको स्मरण गराउँदै नेता अधिकारीले पार्टी राजनीतिमा भने सक्रिय नै रहने बताए। छिटो महाधिवेशनका लागि आफ्नो तर्फबाट आवश्यक दबाब र पहल जारी रहने उनको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया