गगनसहित कांग्रेसका ३ पदाधिकारी आगामी निर्वाचन नलड्ने घोषणा

232 Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहित तीन जना युवा पदाधिकारीहरूले आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन्।

कांग्रेसका १४ पदाधिकारीमध्ये महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे आगामी निर्वाचन नलड्ने भएका हुन्। महामन्त्री शर्मा र सहमहामन्त्री पाण्डेले यसअघि नै निर्वाचन नलड्ने सार्वजनिक घोषणा गरिसकेका छन् भने महामन्त्री थापाले पार्टी नेतृत्व परिवर्तनको सर्तसहित चुनाव नलड्ने धारणा राखेका हुन्।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन नभए आफू चुनावमा नजाने स्पष्ट पारेका थिए।
‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ। नेतृत्व फेरिएन भने म चुनाव लड्दिनँ,’ बैठकमा उनले भनेको एक पदाधिकारीले जानकारी दिए।

यद्यपि तत्काल पार्टी नेतृत्व परिवर्तनको सम्भावना न्यून देखिएको छ। नेतृत्व परिवर्तन भए मात्रै थापा चुनाव लड्ने बताइएको छ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने नेतृत्व परिवर्तन भए पनि आफू निर्वाचन नलड्ने स्वघोषणा गरेका छन्। कार्यसम्पादन समिति बैठकमा उनले लगातार तीन पटक उम्मेदवार भइसकेकाले यसपटक नयाँ राजनीतिक अभ्यासका लागि चुनाव नलड्ने बताएका थिए।
‘लगातार तीन पटक उम्मेदवार भइसकेँ, अब अरू साथीहरूलाई अघि सार्न चाहन्छु,’ शर्माले बैठकमा भने।

यसअघि मंसिरमा बसेको जिल्ला कार्यसमिति बैठकमा पनि शर्माले उम्मेदवार बन्न इच्छुक नरहेको स्पष्ट पारेका थिए।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका बद्री पाण्डेले नयाँ पुस्तालाई अवसर दिन चुनाव नलड्ने निर्णय गरेको बताएका छन्।
‘सांसद र मन्त्री भइसकेँ, अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचले चुनाव नलड्ने निर्णय गरेको हुँ,’ पाण्डेले भने।

निर्वाचन नलड्ने घोषणा गरेपछि कांग्रेस बाजुराले पाण्डेको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको छैन। पाण्डे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट प्रत्यक्ष निर्वाचित भएका थिए।