राजनीतिक विकल्पका लागि युवासँग नयाँ शक्ति अनिवार्य : प्रवक्ता शाही

182 Shares

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वैकल्पिक शक्ति र युवाहरू मिलेर अघि बढ्नुको विकल्प नरहेको प्रस्ताव राखेको बताएका छन्।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शाहीले महानगर प्रमुख शाहसँग चरणबद्ध रूपमा छलफल भएको पुष्टि गरे। उनले नयाँ शक्ति र युवाहरू एकीकृत भएर अघि बढ्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिए।

प्रवक्ता शाहीले मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरू मिलेर जानु नै अन्तिम विकल्प भएको बताए। आसन्न प्रतिनिधिसभा निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा प्रभाव स्थापित गर्ने गरी वैकल्पिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

उनले निर्वाचनका लागि मात्र नभई मुलुकको दीर्घकालीन हितलाई मध्यनजर गर्दै राजनीतिक सहकार्य अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। भेटघाटका क्रममा देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्ने सम्भावनाबारे छलफल भएको उनले बताए।

हालसम्म कुनै ठोस निर्णय नभएको उल्लेख गर्दै प्रवक्ता शाहीले राजनीतिक सहकार्यको टुंगो लागेपछि थप विषय सार्वजनिक गरिने जानकारी दिए। साथै, राम्रा मानिसहरू एक ठाउँमा नआएकै कारण मुलुकले अपेक्षित सामाजिक–आर्थिक समृद्धि हासिल गर्न नसकेको टिप्पणी पनि उनले गरे।