काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आज पहिलोपल्ट औपचारिक छलफल हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा मंगलबार दिउँसो ३ बजे जेन–जी आन्दोलनपछिको परिस्थितिबारे सामूहिक छलफल हुन लागेको हो। राष्ट्रपति पौडेलले नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग हुने छलफलमा प्रधानमन्त्री कार्कीलाई पनि सहभागी हुन निम्तो दिएका हुन्।
राष्ट्रपति सचिवालयका अनुसार छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।
यद्यपि, राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की तथा पूर्वप्रधानमन्त्रीत्रयसँग हुने छलफलको एजेन्डाबारे भने औपचारिक रूपमा केही खुलाएका छैनन्। जेन–जी आन्दोलनपछि विकसित राजनीतिक अवस्था, निर्वाचन र समग्र राजनीतिक निकासबारे छलफल केन्द्रित हुने अनुमान गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया