काठमाडाैं । जेन–जी विद्रोहका मागहरू पूरा नभएको आरोप लगाउँदै मिराज ढुंगानाको नेतृत्वमा रहेको जेन–जी पुस्ता समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ।
सरकारले जेन–जी विद्रोहको भावना र मागअनुसार कदम नचालेको भन्दै प्रदर्शनकारीहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन्। यसअघि सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेन–जी अगुवा मिराज ढुंगानासहित केहीलाई नियन्त्रणमा लिएको थियो।
मंगलबारको प्रदर्शनमा सहभागीहरूले
‘जेन–जीको माग हरायो, निर्वाचन भनी करायो’,
‘अतिभो राजनीतिक खेल, अब सरकार फेल’,
‘घाइतेका माग पूरा गर’ र
‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’
जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
जेन–जी समूहहरूले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेन–जी विद्रोहमाथि भएको दमनमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने लगायतका माग अघि सार्दै आएका छन्। आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि उनीहरूले दिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया