प्रधानमन्त्री कार्कीले अघि सारे नयाँ प्रस्ताव: कर्मचारीले हप्तामा एक दिन परम्परागत पोशाक लगाउने

161 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजले आफ्नो परम्परा र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। उनले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूले हप्तामा कम्तीमा एक दिन परम्परागत पोशाक लगाउने अभ्यास सुरु गर्न सकिने धारणा व्यक्त गरेकी छन्।

तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले आधुनिकताको नाममा मौलिक पहिचान हराउँदै जानु चिन्ताको विषय भएको बताइन्। “कतिपय समाज अहिले आफ्नो पहिचान खोज्दै भौँतारिरहेका छन्,” उनले भनिन्, “आफ्नो संस्कृति र मौलिकता बिर्सिँदै जाँदा पहिचान संकटमा पर्छ। तर नेपाली समाजसँग विविध संस्कृति, परम्परा र आफ्नोपनको ठूलो धरोहर छ, जसलाई संरक्षण गर्नैपर्छ।”

प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयमा हप्तामा एक वा दुई दिन परम्परागत वेशभूषा लगाउने व्यवस्था गर्न सकिन्छ कि भन्ने विषयमा सोच्नुपर्ने सुझाव पनि दिइन्।

भेटका क्रममा परिषद्का प्रतिनिधिहरू गुरुङ समुदायको परम्परागत वेशभूषामा उपस्थित भएका थिए। उक्त वेशभूषाको प्रधानमन्त्री कार्कीले प्रशंसा गर्दै यसले सांस्कृतिक पहिचान झल्काउने बताइन्।

उनले संस्कृतिभित्र रहेका हानिकारक प्रथाहरूलाई क्रमशः हटाउँदै जानुपर्ने भए पनि मौलिक परम्परा र वेशभूषा भने संरक्षण गर्नुपर्ने धारणा राखिन्।

यस अवसरमा परिषद्ले आगामी पुस १५ गते आयोजना हुने तमु ल्होसार कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री कार्कीलाई आमन्त्रण गरेको छ। परिषद्का महासचिव राजु गुरुङले निम्तोपत्र वाचन गरेका थिए।