काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशको प्रधानमन्त्री भएर राष्ट्रसेवा गर्ने चाहना रहेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित जेनजीसँग अन्तरक्रिया कार्यक्रममा महासचिव विप्लवले आगामी निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने र जनताले विश्वास गरे देशको कार्यकारी प्रमुखका रूपमा काम गर्ने चाहना रहेको उल्लेख गर्नुभयो। तर उहाँले तोकिएकै समय फागुन २१ गते निर्वाचन हुने विषयमा गम्भीर शंका व्यक्त गर्नुभयो।
महासचिव विप्लवले सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउने कुरामा आमजनताले विश्वास नगरेको दाबी गर्नुभयो। उहाँका अनुसार प्रहरी तथा कर्मचारीको मनोबल खस्किएको, लुटिएका हतियार फिर्ता नभएको र निर्वाचनका लागि आवश्यक बजेटको अभावजस्ता कारणले चुनाव हुनेमा आशंका पैदा भएको हो।
उहाँले वर्तमान संकट समाधानका लागि सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो। साथै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने धारणा राख्दै यही विषय जेनजी आन्दोलनको मुख्य मागसमेत रहेको बताउनुभयो।
महासचिव विप्लवले जेनजी आन्दोलनका मागअनुसार भ्रष्टाचारविरुद्ध कारबाही अघि नबढाएको आरोप पनि वर्तमान सरकारमाथि लगाउनुभयो। “यो सरकारले जेनजीका माग पूरा गर्न सक्दैन,” उहाँले भन्नुभयो।
उहाँले निर्वाचनमार्फत नयाँ राजनीतिक शक्तिको उदय हुनुपर्ने अवस्थामा पुरानै शक्तिहरू फेरि सलबलाउन थालेको टिप्पणी पनि गर्नुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया