काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूमाथि निर्मम रूपमा प्रहार गरेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा बागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले जेन–जी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरूमाथि निरन्तर दबाब र प्रहार गरिरहेको दाबी गरे। उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको नेतृत्वबाट असभ्य भाषाको प्रयोग गर्दै निर्माण व्यवसायीहरूमाथि आक्रमण भइरहेको आरोप लगाए।
अध्यक्ष सिंहले मन्त्री घिसिङका कदमले निर्माण व्यवसायीहरू हतोत्साहित भएको बताउँदै निर्माण उद्योग नै धराशायी बनाउने काम भइरहेको दाबी गरे। असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले लिएको मार्ग विगतका सरकारभन्दा फरक हुन नसकेको उनले उल्लेख गरे।
उनले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको स्मरण गराउँदै अन्तरिम सरकारले पनि त्यही प्रवृत्तिलाई निरन्तरता दिएको आरोप लगाए। मन्त्री घिसिङले सरकारी संयन्त्रको दुरुपयोग गर्दै पार्टी प्रचारमा लागिरहेको समेत सिंहको आरोप छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया