जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता दिने सरकारको निर्णय

218 Shares

काठमाडौं । सरकारले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता प्रदान गरिनेछ।

जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ कार्यान्वयनमा आएसँगै प्रक्रिया अघि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। कार्यविधिअनुसार स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने व्यवस्था गरिएको छ।

कार्यविधि अनुसार मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ, गम्भीर घाइतेलाई मासिक ९ हजार रुपैयाँ र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ उपलब्ध गराइनेछ। सामान्य घाइतेलाई भने नगद राहतको व्यवस्था गरिएको छैन। कार्यविधिको उपदफा (१०) बमोजिम यो भत्ता महँगीको अवस्थाका आधारमा पुनरावलोकन गर्न सकिने प्रावधान पनि राखिएको छ।

जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको सिफारिस गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण अन्तर्गत २९ मंसिरसम्म काठमाडौं, कास्की र चितवन जिल्लाका १८३ जनाको वर्गीकरण सम्पन्न भइसकेको छ।

वर्गीकरण अनुसार १८ जना अति गम्भीर, ५५ जना गम्भीर, ४० जना मध्यम र ७० जना सामान्य घाइते रहेका छन्। काठमाडौंमा १६० घाइतेको वर्गीकरण गरिएको छ, जसमा १६ जना अति गम्भीर, ५२ जना गम्भीर, ३७ जना मध्यम र ५५ जना सामान्य घाइते रहेका छन्।

त्यस्तै, कास्की जिल्लामा हालसम्म ७ जना घाइते वर्गीकृत भएका छन्, जसमा अति गम्भीर दुई जना, गम्भीर तीन जना र सामान्य दुई जना रहेका छन्। चितवनमा भने कुल ७ जना घाइते वर्गीकृत भएका छन्, जसमा अति गम्भीर र गम्भीरमा कोही पनि नपरेका र मध्यम र सामान्यमा क्रमशः ३ र ४ जना रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ७४ स्वास्थ्य संस्थाबाट प्राप्त विवरणअनुसार जेनजी आन्दोलनमा कुल २ हजार ५२२ जना घाइते भएका थिए।