विश्वासको मतको सामना गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादव, समीकरण कस्तो छ?

206 Shares

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ।

मधेस भवनस्थित मुख्यमन्त्री निवासमा हालै बसेको सात दलीय गठबन्धनको बैठकमा भएको सहमतिअनुसार मुख्यमन्त्री यादवले आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो।

नेपाली कांग्रेसका संसदीय दलका नेता समेत रहनुभएका यादव मंसिर १९ गते नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँलाई ६ दलका ७७ सांसदको हस्ताक्षरसहित स्पष्ट बहुमत प्राप्त छ। प्रदेश सभाको वर्तमान अंकगणितअनुसार मुख्यमन्त्री यादवले सहजै दुई तिहाइ मत प्राप्त गर्ने देखिन्छ।

निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले समेत नयाँ सरकारलाई विश्वासको मत दिने प्रतिबद्धता जनाइसकेका छन्। यसले मुख्यमन्त्री यादवले प्रतिपक्षबाट पनि समर्थन पाउँदै ‘झन्डै सर्वसम्मत’ विश्वास प्राप्त गर्ने सम्भावना बलियो बनेको छ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। तर, मुख्यमन्त्री यादवसँग नेपाली कांग्रेस (२२), जसपा नेपाल (१९), जनमत पार्टी (१३), माओवादी केन्द्र (९), लोसपा (९) र एकीकृत समाजवादी (७) गरी बलियो बहुमतको समर्थन रहेको छ।

हाल एमाले (२५), नेपाल संघीय समाजवादी पार्टी (१) र राप्रपा (१) मात्र औपचारिक रूपमा सरकार बाहिर रहेका छन्। यद्यपि, बदलिँदो राजनीतिक समीकरणमा उनीहरूको भूमिका कस्तो रहन्छ भन्ने विषय आजको बैठकबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई प्राथमिकताका साथ समावेश गरिएको छ।