काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मतपरिणाम सार्वजनिक भएलगत्तै नवनिर्वाचित नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ लिएका हुन् । महाधिवेशनबाट केपी शर्मा ओली पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै तेस्रो कार्यकालका लागि नेतृत्व सम्हालेका हुन् ।
उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गरेका छन् भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । महासचिवमा शंकर पोखरेल विजयी भएका छन् भने उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई निर्वाचित भएका छन् ।
सचिव पदमा खगराज अधिकारी, पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी र राजन भट्टराई निर्वाचित भएका छन् । नवनिर्वाचित सबै पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा नवनिर्वाचित पदाधिकारीहरूले पार्टी विधान र नीतिप्रति निष्ठा राख्ने तथा जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
१९ सदस्यीय पदाधिकारी टोलीमा अधिकांश पुराना अनुहारहरूले निरन्तरता पाएका छन् भने केही नयाँ अनुहारहरू पनि समावेश भएका छन् । महाधिवेशनले पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । यस महाधिवेशनले एमालेको आन्तरिक एकता सुदृढ गर्दै आगामी दिनमा सरकार तथा विपक्षी भूमिकामा पार्टीलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया