काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ।
आयोगले बुधबार सातै प्रदेशका लागि मतदान स्थल निर्धारण गरिएको जानकारी दिएको हो। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रत्येक प्रदेशको राजधानी रहेको जिल्लामा मतदान स्थल तोकिएको छ। ती मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ।
निर्णयअनुसार मतदान केन्द्र ‘क’ प्रदेशसभा सदस्यहरूका लागि तोकिएको छ भने मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखका लागि निर्धारण गरिएको छ। निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।
प्रदेशगत मतदान स्थलको विवरण यस प्रकार रहेको छः
१. कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर, मोरङ
२. मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४, धनुषा
३. बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिका–४, मकवानपुर
४. गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा, कास्की
५. लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ
६. कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत
७. सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली
फेसबुकबाट तपाईको प्रतिक्रिया