सन् २०२५ अहिलेसम्मकै दोस्रो सबैभन्दा तातो वर्ष बन्ने सम्भावनाः अध्ययन

244 Shares

यो वर्ष अर्थात् सन् २०२५ संसारमा तापक्रमबारे तथ्याङ्क राख्न शुरू गरेयताको दोस्रो तातो वर्ष बन्ने सम्भावना रहेको एउटा अध्ययनले देखाएको छ ।

युरोपको वैश्विक तापमान अनुगमन निकाय ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस’ ले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार यस वर्षको तापक्रम सन् २०२४ को भन्दा कम तर सन् २०२३ को भन्दा बढी हुने सम्भावना देखाएको हो ।

सन् २०२३  अहिलेसम्मकै तातो वर्ष बनेकोमा सन् २०२४ मा रेकर्ड तोडिएको थियो । यसपालि पनि विश्वको तापक्रम वृद्धि पूर्वऔद्योगिक स्तरभन्दा १ दशमलव ५ डिग्री सेल्सियसले बढ्दै पहिलो पटक तीन वर्षे औसत तापक्रमले १ दशमलव ५ डिग्रीको सीमा पार हुने देखिएको छ । यो सीमालाई सन् २०१५ को पेरिस सम्झौतामा सुरक्षित मानिएको थियो । सुरक्षित सीमा लगातार तेस्रो वर्ष पार हुनुको अर्थ जलवायु परिवर्तनको गति तीव्र रहेकोले यसलाई नियन्त्रण गर्न थप प्रयास आवश्यक देखिएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा यो महिना दक्षिणपूर्वी एशियामा चक्रवातसहितका धेरै चरम मौसमी घटनाहरू भएर जनधनको क्षति गराएको घटनालाई पृथ्वीको तापमान वृद्धिसँग जोडिएको छ । सन् १९४० तथ्याङ्क रेकर्ड गर्न थालेको कोपर्निकसले जमिन र समुद्र दुवैमा अर्बौं भू–उपग्रह र मौसमका मापनहरू प्रयोग गरेर तथ्याङ्कको रेकर्ड लिन्छ ।