विद्युत् प्राधिकरणले काट्यो पहिलो किस्ता तिरेका उद्योगीलाई दोस्रो किस्ता बुझाउन पत्र

189 Shares

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगीहरूसँग फेरि दोस्रो किस्ता रकम माग गरेको छ । प्राधिकरणका वितरण केन्द्रहरूले मंगलबारदेखि सम्बन्धित उद्योगहरूलाई पत्राचार गर्दै दोस्रो किस्ता पनि बुझाउन पत्र पठाएका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको पहिलो किस्ता बुझाएका उद्योगलाई दोस्रो किस्ता पनि समयमा बुझाउन ताकेता सुरु गरिएको बताए ।उद्योगीहरुका अनुसार प्राधिकरणले पठाएको पत्रमा पहिलो किस्ता तिरेकोमा धन्यवाद दिँदै समयमै दोस्रो किस्ता बुझाउन भनिएको छ । प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ । प्राधिकरणको ताकेतासँगै हुलास स्टील र अशोक स्टीलले दोस्रो किस्ता बापतको रकम बुझाइसकेका छन् । अशोक स्टीलले दोस्रो किस्ता बापत ६३ लाख रुपैयाँ बुझाएको छ । यसअघि पनि कम्पनीले सोही बराबरको रकम पहिलो किस्तामा तिरेको थियो । अशोक स्टीलले प्राधिकरणलाई कुल १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ तिर्न बाँकी छ ।त्यस्तै, सिमरा वितरण केन्द्र अन्तर्गतको हुलास स्टील इन्डस्ट्रीज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ता बुझाएको छ । १४ करोड १२ लाख ५ हजार रुपैयाँ कुल बक्यौता रहेको हुलासले २८ किस्ताको सुविधा लिएको हो ।गत कार्तिकमा बक्यौता नतिरेको भन्दै प्राधिकरणले २५ उद्योगहरूको लाइन काटेको थियो । प्राधिकरणले लाइन काटेसँगै उद्योगहरूले पहिलो किस्ता बुझाएका थिए ।उच्च सरकारी तहमा भएको समझदारी अनुसार पहिलो किस्तालाई ‘धरौटी’ मानेर कानुनी उपचार ९पुनरावलोकन० मा जाने भनिए पनि प्राधिकरणले त्यसलाई नियमित किस्ताकै रूपमा अघि बढाएको छ । प्राधिकरणले प्रशासकीय पुनरावलोकनको प्रक्रिया नब्युँताई नियमित किस्ता असुलीको प्रक्रिया थालेको छ । २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुल बापत ३५ उद्योगको कुल ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बक्यौता थियो । लोडसेडिङको समयमा विद्युत् उपभोग गरेका यी उद्योगहरूबाट हालसम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल भइसकेको छ भने अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ उठ्न बाँकी छ ।