काठमाडौं । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ ।
फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको हो ।
पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ ।
नेपालमा २०११ सालदेखि सामान्य रूपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रूप धारणा गरेको हो ।
पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ ।
पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको सङ्ख्या बढ्न थालेको हो । यस्तै, फूलको प्रयोग धेरै हुने भएकाले तिहारलक्षित फूलखेती गर्नेको सङ्ख्या बढ्दै गएको छ ।
छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ । विशेषगरी तिहारमा फूलको व्यापार धेरै हुने गरेको छ ।
पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ ।
कोरोना महामारीको समयमा पुष्प व्यवसायमा असर गरेको भए पनि विस्तारै पुष्प व्यवसायले गति लिँदै गएको छ ।
नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएईलगायत देशहरुमा निर्यात हुँदै आएको एसोसिएसनले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया