मखमली र सयपत्री फूलको माग तिब्र रुपमा बढ्दै, आयात गर्नु नपर्ने

369 Shares

काठमाडौं । नेपालीहरुकोमहान पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तिब्र रुपमा बढेको छ । 

झिलीमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ ।

तिहारमा मखमली फूललाई विशेष महत्व दिइन्छ । अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरुमा प्रयोग हुने भएकाले यसको माग झनै उच्च हुन्छ । यही मागलाई मध्यनजर गर्दै मकवानपुरका कृषक परम्परागत खेती छाडेर व्यवसायिक फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।

हेटौँडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडा, मनहरी, थाहा नगरपालिका लगायतका क्षेत्रहरूमा सयपत्री र मखमली फूल खेती विस्तार भइरहेको छ ।

अघिल्ला वर्षहरूमा प्रायः घरहरुमै आफूलाई आवश्यक फूल उत्पादन हुन्थ्यो । तर यस वर्ष तिहार चाँडो परेकाले गाउँघरमा फूल उत्पादन पर्याप्त नभएको र यस्तो अवस्थामा व्यावसायिक फूल खेती गर्ने किसानहरु राम्रो आम्दानी हुने आसामा रहेका छन् ।

नेपालमा माग धान्न अघिल्ला वर्षहरुमा भारतबाट फूल आयात गरिन्थ्यो । तर अहिले स्थानीयस्तरमै उत्पादन बढ्न थालेपछि आयात गर्न नपर्ने र सरकारले बजार व्यवस्थापन गरे नेपालमै हाल प्रशस्त फुल उत्पादन गरीएको हँदा माग धान्न सकिने नेपाल सयपत्री फूल उत्पादक संघका अध्यक्ष बालकृष्ण चौलागाईंले बताएका छन् ।  

देशभरमा सबैभन्दा बढी काठमाडौं उपत्यकाका सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।

देशभरमा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ ।

काठमाडौंमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ । विगतका वर्षहरुमा ७५ प्रतिशत फूल नेपालमै उत्पादन हुने र २५ प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको थियो ।

तिहार पर्वसँगै देशभर फूलको माग उच्च हुँदै गएको बेला कृषकले व्यावसायिक फूल खेतीबाट कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।