रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुन: बनाउन सुरु

361 Shares

काठमाण्डौ । असोज १८ र १९ गतेको वर्षापछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनस् बनाउन सुरु भएको छ ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट बगेका डाईभर्सन बनाउन सुरु भएको जानकारी दिए । खोलाको बहाव केहि कम भएपछि डाइभर्सन बनाउन सुरु भएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुनस् निर्माण गर्न लागेको हो । पानीको बहाव कम हुँदै गएकोले सडक निर्माणको तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीले जानकारी दिइन् ।

‘प्लान बन्दै छ, चौकीडाँडाको एक स्थानबाट भन्दा पनि ३र४ स्थानबाट सडक बनाउन शुरु गर्ने भन्ने छ । सम्भावना भयो भने हाम्रो मेशीनहरु जहाँजहाँ छन त्यहि स्थानहरुमै डाइभर्सन निर्माण सुरु गर्छौं,’ अधिकारीले भनिन् ।

रोशी खोलाको किनारै किनार सडक लैजानुपर्ने र पानीको धार पनि भित्तासम्मै टासिएको हुनाले सडकको डाइभर्सन पुनस्निर्माणमा समस्या भएको अधिकारीको भनाइ छ ।

डाइभर्सन बनाउन सुरु गर्नुअघि सरोकारवालाबीचमा एक अर्कालाई सहयोग गर्ने निर्णय भएको छ ।

नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादको विचमा चाँडो भन्दा चाँडो बीपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरु निर्माणको लागि विशेष पहल गर्ने सहमति भएको छ ।

बीपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुनस् बगाइदिएपछि अहिले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।