काठमाण्डौ । दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई सरकारले आग्रह गरेको छ ।
सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभएको छ ।
अहिलेको विषम अवस्था, सडकको जोखिमलगायतको मौका छोपेर हवाई टिकटको भाडा महँगो भएको गुनासो आएको भन्दै सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुलाई राहत दिन सबै पक्षलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभएको छ ।
हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ ।
त्यसमा अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सेवा प्रदायक संस्थालाई भनिएको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी प्राधिकरणले चाडपर्वमा हवाई यात्रुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था पनि गरेको छ ।
नेपालमा दैनिक १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेको तथ्याङ्क छ ।
प्राधिकरणका सूचना अधिकारी भुलले दशैँ, तिहारजस्ता पर्वमा त्यो सङ्ख्या बढेर दैनिक १८ हजारसम्म यात्रु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया