काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउन आफूले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् । बिहीवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले आफूले नेतृत्व छोडेको भएपनि वैकल्पिक शक्ति निर्माण गर्दै समाज रुपान्तरणको अभियानमा सधैं रहिरहने बताए । उनले राजनीतिक दलहरुभित्र पुस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ राजनैतिक शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
उनले प्रमुख तीन परम्परागत दलका शिर्ष नतोहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनीहरुले मुलुकलाई असफल बनाएको टिप्पणी गरे ।
उनले सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्ट नेताहरुलाई कारबाही गर्न युवा पुस्ताले दबाब दिनुपर्ने बताए । उनले अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रतयक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने पनि बताए ।
उनले जेन–जी पुस्तालाई २१ फागुनमा हुने निर्वाचनमा संस्थागत भएर देशको नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले बुधवार मात्रै नेसपा नयाँ शक्तिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया