माओवादीले केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन गर्ने

215 Shares

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले अहिलेको केन्द्रीय कमिटी विघटन गरी विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने जनाएको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने, त्यसको संयोजन अध्यक्षले गर्ने र प्रस्ताव लैजाने निर्णय गरेको उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । 

यस्तै बैठकले तोकिएको समयमा चुनाव गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता सापकोटाले बताउनुभएको छ ।  

उहाँका अनुसार चुनाव गराउन पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णयसमेत भएको छ ।

जेन–जी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरेर सझदारी कायम गर्ने, समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्नेसँग एकता गर्ने, सामाजिक सङ्घ–संस्थाहरू सबैलाई समेटेर बृहत्सं युक्त मोर्चा निर्माण गर्ने लगायतका निर्णय गरेको सापकोटाले बताउनुभयो ।

माओवादीको भोलि बस्ने केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो । 

स्थायी कमिटी बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गर्दै एजेन्डा तय गरेको प्रवक्ता सापकोटाको भनाइ छ । बैठकले महाधिवेशनको मिति तय गर्नेछ ।