शक्तिशाली आँधी ‘रागासा’ चीनमा अवतरण

ताइवानमा कम्तीमा १७ जनाको ज्यान गयो

238 Shares

एजेन्सी । यस वर्षको विश्वकै सबैभन्दा शक्तिशाली आँधी ‘रागासा’ दक्षिणी चीनमा अवतरण गरेको छ । यस आँधीले ताइवानमा ताल फुटेर कम्तीमा १७ जनाको ज्यान लिएको छ । 

ताइवान र हङकङमा भयानक हावा र ठूलो वर्षापछि आँधी बुधबार चीनमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

शक्तिशाली आँधीको सामना गर्न चीनले ग्वाङदोङ प्रान्तबाट झन्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिसकेको छ । दक्षिण चीनका सयौं उडान रद्द भएका छन् ।

ताल फुट्दा पूर्वी ताइवानमा ठूलो बाढी आएको र भूगर्भविद्हरूले यसलाई ‘पहाडबाट आएको सुनामी’ का रूपमा वर्णन गरिरहेका छन् ।

यो आँधीको प्रभाव हङकङमा पनि परेको छ । शक्तिशाली हावा र ठूलो वर्षाका कारण हङकङमा ६२ जना घाइते भएका छन् । हङकङमा सडक, होटल डुबानमा परेका छन् ।

यसअघि सोमवार फिलिपिन्सको दुर्गम उत्तरी टापुहरूमा ‘रागासा’ आँधीका कारण शहरहरू डुबानमा पर्दा कम्तीमा एक जनाको ज्यान गएको छ ।

आँधी अहिले कमजोर भएको छ तर पनि २ सय ४१ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।