प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

375 Shares

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् ।

चुनावको तयारीका विषयमा प्रधानमन्त्री कार्कीसँग आयोगका पदाधिकारीले छलफल गरेका हुन् ।।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आउँदो फागुन २१ गतेका लागि चुनाव तोकिएको सन्दर्भमा त्यसका लागि आवश्यक कानून संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन् ।

छलफलमा सहभागी कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले चुनावको तयारी गर्नैपर्ने र तयारीका सम्बन्धमा कुनै अवरोधहरू भए त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले चुनावका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जनाउँदै पछि आउने चुनौतीका विषयमा नेपाल सरकारसँग निरन्तर छलफल हुने बताउनुभयो ।

आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको चुनाव सम्पन्न गर्न मतदाता नामावली ऐन २०७३ मा संशोधनलगायत आवश्यक स्रोत साधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ । 

अहिले आउँदो कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० रहेको छ ।

यसअघि यही असोज २ गते आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । 

उपचुनावको मिति तोकिएको सन्दर्भमा गएको असार १६ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन भएकाले मध्यावधि चुनावको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन खुला गर्न कानूनी प्रबन्ध गर्नुपर्नेछ ।

गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेश बमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे सोच्न भनेपछि आयोगले त्यसका लागि कानूनी विज्ञसँग छलफल गरेको छ ।

गएको भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आउँदो फागुन २१ गते चुनाव गर्ने घोषणा गरेको हो ।