गृहसचिव, रक्षासचिव र राष्ट्रिय योजना आयोगका सचिवको सरुवा

357 Shares

काठमाण्डौ । सरकारले तीनजना सचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्बाट निर्णय गरिएको निर्णय आजमात्रै जानकारी आएको हो । गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ । उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ ।

रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार मुख्यसचिव एकनारायण अर्यालले सरुवा प्रमाणित गरेका कार्यालय स्रोतले जानकारी दियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सचिव दुवाडीले बल प्रयोगका लागि निर्देशन दिएको आरोप लागेको थियो ।