नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको लिए शपथ

353 Shares

काठमाण्डौ । नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कानून न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपक्षी विकासमन्त्री मदन परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेकि थिइन् । यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले शपथ ग्रहणसहित पदभार ग्रहण गरिसकेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डलमा हेरफेरसमेत गरेका छन् । अर्थमन्त्री खनाललाई सङ्घीय मामिला मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ भने गृहमन्त्री अर्याललाई दिइएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ । यसअघि चार सदस्यीय मन्त्रिपरिषद्‍मा आज चार जना थपिएपछि आठ सदस्यीय भएको छ ।

आविष्कार वैज्ञानिक पुन, टेलिभिजनकर्मी खरेल, पूर्वन्यायाधीश सिन्हा र तत्कालीन राज्य पुनर्संरचना समितिका संयोजक परियार मन्त्री नियुक्त भएका हुन् । गएको भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकि कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकि थिइन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो ।