काठमाण्डौ । असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा नेपाल वायु सेवा निगमले सिधा उडान भर्ने भएको छ ।
निगमले पहिलोपटक काठमाण्डौ–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा शुरु गर्ने भएको हो ।
यसका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताउनुभएको छ ।
निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ ।
पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ ।
त्यसपछि हरेक आइतवार, मङ्गलवार र शनिवार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ ।
काठमाण्डौबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ ।
नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब नौ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया