ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषदले चाँडै पूर्णता पाउने बताएका छन् । शुक्रवार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।
मन्त्री घिसिङले मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाई नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग गरेको पनि बताए । सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रीपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिने उनको भनाई थियो । मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम शुरु गरिसकेको पनि बताए ।
त्यस्तै मन्त्री घिसिङले राष्ट्र निर्माणमा अभियान जुट्न सबैलाई आह्वान गरेका छन् । जेन—जी आन्दोलनको क्रममा आगजनी, तोडफोड गरेर मुलुकका धेरै भौतिक संरचना ध्वस्त भएको उल्लेख गर्दै मन्त्री घिसिङले सबैलाई एकतावद्ध भएर पुनर्निर्माणको काममा केन्द्रित हुन आग्रह गरे ।
सरकारले ध्वस्त संरचना निर्माणका लागि छुट्टै कोष खडा गरेर अघि बढेको उल्लेख गर्दै मन्त्री घिसिङले त्यसमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगका लागि पनि आग्रह गरे ।
त्यस अवसरमा मन्त्री घिसिङले ध्वस्त भएका संरचनाहरुको व्यवस्थापनको कामलाई तिब्रता दिने पनि बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया