काठमाडौँ । जेनजीको आन्दोलनका कारण ५ दिनदेखि ठप्प सार्वजनिक यातायात शनिबारदेखि सञ्चालनमा आएका छन् ।
मंगलबारदेखि बन्द गरेको सार्वजनिक यातायात व्यवसायीहरूले स्थानीय सरकारसँगको समन्वयमा शनिबारबाट सञ्चालन गरेको जनाएको हो ।
देशको वर्तमान परिस्थिति सामान्य बनेसँगै स्थानीय सरकारसँगको समन्वयमा यातायात सञ्चालन गरिएको व्यवसायीहरूको भनाइ छ ।
अहिले लामो र छोटो दुरीका सवारी साधन सञ्चालनमा आएपछि यात्रुहरूलाई आवतजावत गर्न सहज भएको छ ।
यता, दसैँ पनि नजिकिदै गर्दा दसैँमा काठमाडौँ उपत्यकाबाट ठुलो संख्यामा यात्रुहरू बाहिरिने गर्छन् ।
यस बेला बाहिरिने यात्रुले टिकट नपाउने, दोब्बर भाडा तिरेर टिकट लिनुपर्ने अर्थात् टिकटका नाममा ठगी हुने, उभिएर यात्रा गर्नुपर्ने समस्या यात्रुले बर्सेनि झेल्दै आएका छन् ।
यात्रुका समस्यालाई मध्यनजर गर्दै सरकारले अग्रिम टिकट बुकिङ खुलाउँदै आएको छ ।
तर यो वर्ष भने अग्रिम टिकट बुकिङ खुला गर्न ढिला भएको छ । अबको सात दिनपछि दसैँ सुरु हुन्छ ।
गत वर्षको दसैँका लागि घटस्थापनाको ५ दिन अघि टिकट बुकिङ खुला गरिएको थियो । तर बाढी पहिरोका कारण सडक यातायात प्रभावित नै बनेको थियो । यो वर्ष भने एक साता अघि नै खुलाउने भनिएको थियो ।
तायात व्यवस्था विभागले पनि टिकट बुकिङ खुलाउन ढिलाइ भएको स्वीकार गरेको छ । तर जेनजीको आन्दोलनका कारण छलफल हुन नसक्दा टिकट बुकिङमा ढिलाइ भएको हो ।
विभागका निर्देशक श्रीकान्त यादवका अनुसार विभागले गत सोमबार टिकट बुकिङ खुलाउनका लागि सरोकारवालासँग छलफल गर्ने मिति तय भएपनि जेनजीको आन्दोलनका कारण छलफल हुन नसक्दा ढिलाइ भएको बताउनुभएको हो ।
साथै टिकट बुकिङ खुला गर्नका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी र सडक विभागसँग छलफल गरेपछि मात्र टुङ्गो लाग्ने उहाँको भनाइ छ ।
यसै गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय बहादुर स्वाँरका अनुसार दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्नका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालाहरूलाई आइतबार बैठक आह्वान गरेको छ ।
यस बैठकले दसैँका लागि टिकट बुकिङ कहिलेदेखि खुला गर्ने भन्नेबारे छलफल गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया