काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन् ।
सबैको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाजलाई सम्बोधन गर्ने गरी अबको बाटो तय गरिनुपर्ने अध्यक्ष राउतले भनाइ छ।
राज्यका महत्वपूर्ण अंगहरू जलाउनु, जनताले वर्षौं लगाएर बनाएको संविधान खारेज गर्न तम्सिनु तथा निर्वाचित जनप्रतिनिधिमूलक थलो संसद भंग गरेर रिक्तता र अवैधता निम्त्याउनु देशका लागि दुर्भाग्य हुने राउतले बताएका छन्।
त्यस्तो अवस्था आए देश नै नरहने वा देशमा कठपुतलीलाई उम्भाएर देश अरुकै हातमा जाने कुराको पृष्ठभूमि निर्माणको रूपमा लिएको राउतको भनाइ छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै राउतले जेनजीको आन्दोलन दुरुपयोग गर्न पर्दा पछाडिका प्रयास सफल भए देश अर्को १० वर्ष अनिर्णय र अस्थिरताको बन्दी बन्ने र देश नै नरहरने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरेका हुन् ।
उनले अहिलेको संक्रमणकालीन स्थितिमा संविधान संशोधनको आवश्यकता रहे पनि संविधानलाई अहिले चलाउने नभई अर्को निर्वाचन नभएसम्म वैध निर्णय गर्न सक्ने संसद् कायम राख्नुपर्ने भन्दै अन्यथा देशमा रिक्तता निम्तिने बताएका छन् ।
अध्यक्ष राउतले ठूलो बलिदानपछि प्राप्त गणतन्त्र जस्तो सुकै परिस्थितिमा रक्षा गर्न तयार रहन अपिल गरेका छन् ।
जेनजी पुस्तालाई सम्बोधन गर्दै उनले कसैको उक्साहटमा संविधान र संसद् भंग गर्नु भयो भने अर्को १० वर्ष तपाईंहरू संविधान बनाउन अल्झिनु हुनेछ, काम गर्ने वातावरण नबन्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया