आन्दोलनरत समूहलाई वार्तामा आउन प्रधानसेनापतिको आग्रह

अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह

313 Shares

काठमाडौँ । हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका गर्न  नेपाली सेनाले आग्रह गरेको छ।

एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका हुन्।

सिग्देलले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिएका छन् ।

घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै उनले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेका छन् ।

सिग्देलले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आम नागरिक, र विदेशी कूटनीतिक नियोगहरूको सुरक्षा सुनिश्चित गर्न सबै नेपालीको साझा कर्तव्य रहेकोमा जोड दिएका छन् ।