एमालेको दोस्रो विधान महाविधेशनको तयारी तिव्र

252 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म हुँदैछ । सोही विधान महाविधेशको तयारी तीव्र रूपमा भइरहेको छ । 

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको छ । 
उहाँले प्रतिनिधिदेखि मञ्च व्यवस्थापनसम्मका सबै कामको केही पूरा भएका र केही तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो । 
एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुँदैछन् ।
प्रचार विभाग प्रमुख गौतमले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि रहेको भन्दै ती प्रतिनिधिमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाको सूची हटाइएको बताउनुभयो ।
 
ती हटाएका रिक्त ठाउँमा भने नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था पार्टीमा नभएकाले नयाँ प्रतिनिधि चयन नहुने बताउनुभयो । 

दसौँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उहाँहरू आयोजकको हैसियतमा रहने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले आइतबार नै सबै प्रतिनिधिलाई एसएमएसमार्फत महाधिवेशनको निमन्त्रणा पठाइसकेको जानकारी दिनुभयो । 

महाधिवेशनको आदर्श वाक्य ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सकंल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ । 

केन्द्रीय कार्यालय सचिव डा. अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीनवटा प्रतिवेदन राजनीतिक, साङ्गठनिक र विधान प्रतिवेदनको छपाइको काम भइरहेको छ । 
यस्तै, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइका क्रममा रहेको छ । 

उहाँले प्रतिनिधिका लागि परिचयपत्र छपाइको काम सकिएको जानकारी दिनुभयो । परिचयपत्र ‘अनलाइन’ मार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ । 

पार्टी केन्द्रीय कार्यालय सचिव डा.अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । 
प्रतिनिधिले ढोकामा आफ्नो परिचयपत्रमा रहेको ‘क्यूआर कोड स्क्यान’ गरेर मात्र प्रवेश गर्न पाइनेछ । 

यस्तै, महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेकोे उहाँको भनाइ छ । विभिन्न जनवर्गीय सगंठन र स्थानीय कमिटीले ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार तयारी गरेका छन् ।