काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन हुनुभएको छ ।
उहाँ नेपाली कांग्रेसको समानुपातिक सांसद हुनुहुन्छ ।
समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्लाको अध्यक्षतामा आज बसेको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।
समितिका यसअघिका सभापति पदमा कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो ।
बैठकमा समिति सदस्य खतिवडाले न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाउनुभएको थियो ।
समिति सभापति निर्वाचित न्यौपानेले आजै सभामुखसँग पद तथा गोपनियताको शपथ लिनुहुने छ । नेपाल विद्यार्थी सघंबाट राजनीति सुरु गर्नुभएकी न्यौपाने हाल कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।
यसअघि उहाँ तत्कालीन संविधानसभामा सदस्य हुनुहुन्थ्यो भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका समेत निर्वाह गरिसक्नुभएको छ ।
कांग्रेस महिला विभाग प्रमुख भई जिम्मेवारी सम्हालेको अनुभव पनि उहाँसँग छ ।
कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले न्यौपानेलाई समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया