सौर्य एयरलाइन्स दुर्घटना प्रतिवेदनबारे पीडित परिवार असन्तुष्ट

264 Shares

काठमाडाैँ । सौर्य एयरलाइन्स नाइनएन—एमइ, सिआरजे २०० वायुयान दुर्घटनामा तीन सन्तति गुमाएका प्रकाश खतिवडाले वायुयान दुर्घटना जाँचबुझको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीबार प्रतिवेदनमाथि छलफल भएको हो । छलफलमा नेपालको १०९ वटा विमान दुर्घटनाको इतिहासमा सौर्य जहाजको दुर्घटना छुट्टै खालको भएको बताउनु भयो । उहाँले ह्युमन फ्याक्टर कारण दुर्घटना भएको निष्कर्ष देखाइएकोमा सहमति जनाउनु भयो । 

उहाँले सौर्य एयरलाइन्स, एरोड्रोन र नेविगेसनको कुरा प्रतिवेदनमा गरिएको तर क्यानलाई सेवा प्रदायक भनेर उल्लेख नगरिएकोप्रति आपत्ति जनाउनु भयो । सेवा प्रदायक संस्थाको अनुमति दिने व्यक्ति जाँचबुझ समितिका संयोजक रतिशचन्द्रलाल सुमनको आफन्त भएकाले त्यो नखुलाइएको उहाँको आरोप छ । उक्त उडान र यात्रुहरु र एयरलाइन्स कम्पनीको हर्कत पनि अवैधानिक रहेको बताउनु भयो । 

४ वर्षको नातीलाई किन सौर्य एयरलाइन्सको कर्मचारी बनाइयो ? भन्दै प्रश्न गर्नुभयो । उर्जा मन्त्रालयमा कार्यरत आफ्नी छोरीलाई समेत सौर्य एयरलाइन्सको कर्मचारी बनाएर उडाइएको बताउँदै उहाँले सरकारले छानविनका लागि बनाएको जाँचबुझ आयोगसमेत अवैधानिक रहेको बताउनु भयो । 

प्रतिवेदन बनाउँदा अरुसँग अन्तर्वार्ता लिएको उल्लेख गरेपनि तीन सन्तति गुमाएको परिवारसँग कुनै सोधपुछ नगरिएको उहाँको गुनासाे छ । प्रतिवेदनसमेत नियोजित रहेको उहाँको ठहर छ । पीडितका कुरा सुनियो भनेपनि न्याय पाएको अनुभुति हुने उहाँको भनाइ छ ।