कुखुरामा चिकेन एनेमिया भाइरस देखियो

331 Shares

चितवन । चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो ।

कार्यालयका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरीएको परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको हो । 

उनका अनुसार ९२ नमूना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको हो । यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए ।

उनका अनुसार  सोही अवधिमा एक हजार १२० वटा कुखुराको कलेजो परीक्षण गरिएको थियो । सो परीक्षणबाट इकोलाई सात सय ८५ वटामा र साल्मोनेला एक सय १२ वटामा देखिएको उनले बताए । जैविक सुरक्षाको अभावमा यी सङ्क्रमण देखिएका हुन् । फार्ममा दाना, पानी, औषधि, भुसलगायत सामग्री लैजाँदा र अण्डा बाहिर पठाउँदा जैविक सुरक्षालाई कडाइका साथ अवलम्बन गर्नुपर्ने उनी बताउछन् । बजारमा निःसङ्क्रमण गर्ने औषधि पाइने भएकाले फार्ममा आउने व्यक्ति र सवारीलाई पूर्ण निःसङ्क्रमण गर्नुपर्ने हुन्छ ।