चालु आर्थिक वर्षबाट खेलाडी र प्रशिक्षकहरुको जीवन र स्वास्थ्यबीमाः खेलकुदमन्त्री

305 Shares

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकाले यस वर्षदेखि खेलाडी र प्रशिक्षकहरुको जीवन बीमा र स्वास्थ्य बीमा लागू गर्ने बताउनुभएको छ।

मंगलबार बसेको प्रतिनिधि सभामा सांसहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरी चालु आर्थिक वर्ष २०८२/०८३ बाट उक्त बीमा योजना लागू गर्ने जानकारी दिनुभएको हो । उहाँले खेलाडीहरुको दुर्घटना बीमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई आजीवन मासिक भत्ताको व्यवस्थाको शुरुवात गरिएको पनि जानकारी दिनुभयो । खेलकुदको दौरानमा दुर्घटनामा पर्ने खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बीमा लागू गरिएको उहाँको भनाइ छ । 

उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र उनीहरुका सन्ततिलाई अध्ययनको छात्रवृत्ति वितरण गर्ने योजना रहेको पनि बताउनु भयो । साथै सरकारले अन्तर्राष्ट्रिय पुरस्कार पाउने खेलाडीलाई फरक—फरक किसिमको पुरस्कार दिने जानकारी दिनुभयो । 

मन्त्रालयमा बजेट अभावको कारण सबै स्थानीय तहमा खेल मैदान निर्माण गर्न नसकिएको बताउँदै यो वर्षबाट बहुवर्षे योजना परेकोले आगामी दिनमा रंगशाला निर्माणले गति लिने बताउनु भयो । स्थानीय तहमा खेलमैदान निर्माण गर्नका लागि यस वर्ष एक सय स्थानीय तहलाई डिपिआर बनाउन पत्राचार गरिएको जानकारी दिनुभयो ।