प्रभुत्व जमाउन शक्ति राष्ट्रहरूले नेपालमा ठूलो रकम खर्च गरिरहेका छन्ः अध्यक्ष दाहाल

271 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको निगरानी बाहिर समानान्तर बजेट वितरण हुने गरेको बताउनुभएको छ।

मंगलबार माओवादी केन्द्र समाजकल्याण विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आईएनजीओ वा एनजीओका नामबाट निकै ठूलो रकम आउने गरेको बताउनुभएको हो । विभिन्न विदेशी दातृ संस्थाहरू या राष्ट्रहरूले दिने उक्त रकम नेपालको बजेटको समानान्तररुपमा खर्च हुने गरेको तर सरकारले नियमन र नियन्त्रण गर्न नसकेको उहाँको भनाई थियो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले नेपाल जस्तो गरिब देशमा प्रभाव पार्न र प्रभुत्व विस्तार गर्ने साधनका रुपमा शक्ति राष्ट्रले नेपालमा लगानी गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा यसलाई राज्यको अनुगमन र लेखाप्रणालीभित्र राख्न प्रयास गरेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले शक्ति राष्ट्रहरू वा दातृ निकायले दिने अनुदान विशुद्ध सहयोग हुन नसक्ने ठोकुवा गर्नुभयो । अनुदानमा राजनीतिक उद्देश्य रहेको पनि स्पष्ट पार्नुभयो । शक्ति राष्ट्रहरूले विश्वभरी नै आफ्नो प्रभुत्व कायम गर्न विभिन्न संघ संस्था निर्माण गर्ने र परिचालन गर्ने गरेको उहाँले बताउनु भयो ।