काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार रेल पूर्वाधार विकासमा गम्भीरतापूर्वक लागिपरेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मेची–महाकाली विद्युतीय रेलमार्ग र पोखरा–काठमाडौं विद्युतीय रेलमार्गसहित १ हजार ३ सय १७ किलोमिटर रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जानकारी दिनुभयो ।
त्यस्तै, पोखरा–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणका लागि स्रोत खोजी गर्न चीनको सहयोगमा प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको उहाँको भनाइ छ । उहाँले रेलमार्गको अध्ययन प्रतिवेदनका आधारमा क्रमशः रेल पूर्वाधार निर्माण गर्दै जाने सरकारको योजना रहेको बताउनु भयो ।
देशको समग्र आर्थिक समृद्धि र क्षेत्रीय सन्तुलन कायम गर्न रेलजस्तो दीर्घकालीन लगानी परियोजनालाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया