चाक्सीबारी बैठकको निष्कर्षः 'सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्'

302 Shares

काठमाडौं । नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा बसेको छ ।

सोमबार दिउँसो उपप्रधान एवं शहरी विकासमन्त्रीसमेत रहनुभएका काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकमा सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारीरुपमा अघि बढाउनेबारेमा छलफल भएको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितीका बारेमा छलफल गरेको बताउनु भयो । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरुले राखेको बताउनु भयो । यसबारेमा उपप्रधान एवं शहरी विकासमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यसबारे ध्यानाकर्षण गराउने र आफूहरुले काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटेर यसबारे जानकारी गराउने बताउनु भयो । 

गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष छ । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्ने कुरा सरकारले अघि नबढाएकोमा चासो व्यक्त भएको पनि बताउनु भयो । सरकार बन्दा सभापति देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएको छ । संविधान संशोधनलाई अब अघि बढाउनुपर्ने आफूहरुको निष्कर्ष रहेको बताउनु भयो । संविधान संशोधनका लागि  सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुने गरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल भएको बताउनु भयो । नेता सिटौलाले काँग्रेस—एमाले गठबन्धन ०८४ सम्मै जाने दाबी पनि गर्नुभयो ।